
शिक्षा मानव जीवनको ज्योति हो । यसको अभावमा सभ्यता र विकासको कल्पना सम्म पनि गर्न सकिँदैन । यस सत्यलाई मनन गरी बुद्ध जस्ता कयौं सपूतहरुले समस्त भौतिक सम्पत्ति त्याग गरी ज्ञानको खोजीमा आफुलाई समर्पण गरेको हाम्रो इतिहास छ । शिक्षा÷ज्ञानकै खोजीमा पहाडका कन्दराहरुमा गएर कठोर तपस्या गर्ने हाम्रा ऋषिमुनिहरुको साधनाले यसको महत्वलाई थप पुष्ट्याइँ गर्दछ । आधुनिक समाजमा शिक्षाको गुरु प्रणाली अनुरुप सञ्चालित शैक्षिक कार्यक्रम धेरैपछि मात्र सुधार हुँदै औपचारिक रुपमा सरकारी स्तरमा सञ्चालन हुँदै आयो । नयाँ शिक्षा पद्घति २०२८ को आगमनसहित यसका आयामहरु विस्तारित हुन पुगे । सरकारी स्तरबाट मात्र शिक्षा प्रदान गर्ने काम मात्रा र गुणस्तर दुवै हिसाबले अपर्याप्त हुँदै आएको सन्दर्भमा निजी स्तरबाट विद्यालयहरु स्थापना भई सञ्चालन हुँदै आएको तथ्य हाम्रा सामु छर्लङ्ग छन्।
देशमा विश्व बजारको माग अनुरुप गुणस्तरीय शिक्षाको माग अपेक्षित हुँदै गएको सन्दर्भमा “Love, Knowledge and Service” को नारासहित वि.सं. २०३९ सालमा पोखरा महानगरपालिका, वडा नं. १ स्थित भिमकाली पाटन, बगरबाट “लिटिल स्टेप बोर्डिङ्ग स्कूल” नामक संस्था स्थापना गरी यस संस्थाले आफ्नो शैक्षिक यात्रा सुरुगरेको हो । यस क्रममा आदरणीय अभिभावक, शुभचिन्तक एवम् अन्य शिक्षाप्रेमीहरु समेतको स्नेह, सहयोग र समर्थनबाट संस्थाले थप उचाई हासिल गर्दै रह्यो । विद्यालय स्तरमा मात्र नभई +२ तहमा समेत अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षाको महत्व बढ्दै गएको र त्यसैका लागि विद्यार्थीहरु विदेशिनु पर्ने बाध्यतालाई मध्यनजर गरी विद्यार्थीको माग र अभिभावकको आग्रहलाई मनन गर्दै वि.सं. २०५५ सालदेखि हामीले सिमलचौरमा +२ तहको विज्ञान कार्यक्रम सञ्चालनमा ल्यायौं भने वि.सं. २०५६ सालदेखि +२ तहमा व्यवस्थापन विषयको शैक्षिक कार्यक्रम सफलताका साथ सञ्चालन हुँदै आए ।
रोजगारीका लागि नयाँ पिंढी विदेशतर्फ आकर्षण हुँदै गएको तत्कालीन परिवेशमा समयकै माग सम्बोधन गर्दै +२ तहमै Hotel Management का कक्षाहरु वि.सं. २०६४ सालदेखि सञ्चालन भए । विद्यार्थीहरुको अत्यधिक आकर्षण रहेको यस विषयमा विद्यार्थीको चाप पनि उत्तिकै बढिरहेको छ । झण्डै चार दशकको शैक्षिक यात्रामा संस्थाले राष्ट्रिय जीवनका विविध क्षेत्रमा हजारौं जनशक्ति उत्पादन गरेको विषयले हामी गौरवान्वित छौं । आज देशको सुरक्षा, बैंकिङ्ग, स्वास्थ्य, कला, साहित्य, विज्ञान आदि क्षेत्रमा मात्र नभई संसारका कुना–कुनामा दक्ष जनशक्तिको रुपमा हाम्रा उत्पादनले अहम् भूमिका निभाई रहेका छन् जसको ज्वलन्त उदाहरण २०६४ मा जिल्ला टपर, २०६६ +२ पश्चिमान्चल टपर तथा जवाहरलाल नेहरु विश्वविद्यालयबाट Gold Medalist हुदैँ अमेरिकाको प्रतिष्ठित Computer तथा Mobile उत्पादक Apple Company मा कार्यरत विद्यार्थी सन्तोष पोखरेल रहेका छन् । तर विद्याको यो लामो शैक्षिक यात्रा सधैं सोझो र सरल बाटोमा हिंडेन, हामीले थुप्रै उकाली–ओराली, अवरोध र अप्ठ्याराहरु समेत बेहोर्नु पर्यो ।
जे होस, आजसम्म आइपुग्दा यस संस्थामा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञानका पृथक प्रयोगशाला, युग सापेक्ष कम्प्युटर प्रयोगशाला, दुर्लभ पुस्तकहरुसहितको व्यवस्थित पुस्तकालय +२ कक्षा अन्तर्गत होटल व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मापदण्डको नवीन प्रयोगशाला, छात्र–छात्राका लागि पृथक छात्रावास पर्याप्त खेल मैदान विद्यार्थीहरुका लागि यातायात सुविधा, इन्टरनेट सुविधा जस्ता पूर्वाधारसहित यो संंस्था उभिन र गौरवमय इतिहास रच्न सफल भएको छ । यस विद्यालयले आफ्नै व्यवस्थापनमा नेपालमा पहिलो पटक १२ वर्ष मुनिका बालबालिकाका लागि Under – 12 Little Step (Boys & Girls) Handball Tournament हरेक वर्ष नियमित आयोजना गर्छ जसको १३ औँ संस्करण समेत सफलता पूर्वक सम्पन्न भएको छ साथै मन्टेश्वरी नर्सरी कक्षालाई सुचारु राख्दै युगको मागअनुरुप नयाँ शिक्षा प्रणाली अन्तर्गत अन्तर्राष्ट्रिय गुणस्तरको पाठयक्रमसहित Cambridge शिक्षण प्रणालीलाई प्राथमिक तहमा लागु गर्नका लागि अभिभावकगणसँग छलफल एवम् आन्तरिक गृहकार्य चलिरहेको छ ।